
काठमाडौं, भदौ ६ । अखिले नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ ।
एन्फाको बुधबार बसेको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिए ।
यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसिप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको उनले जानकारी दिए ।
पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका कोजी सन् २०१८ मा १५० दिन नेपाल बसिसकेकाले अध्यागमन विभागले केही समयअघि कोजीलाई २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो ।
१८औं एसियन गेम्समा सहभागी हुन इन्डोनेसिया गएका उनी त्यहीँबाटै जापान गएका छन् ।
साफ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुआत गर्नेछ ।
नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र तेस्रो बंगलादेशसँग २३ मा खेल्नेछ ।
समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् । रासस
प्रतिक्रिया दिनुहोस्