Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


‘संसदबाटमात्रै प्रतिपक्षीको भूमिका प्रभावकारी बन्न सक्दैन’ (भिडियो)


0
Shares

अक्कल कुँवर/सुयेश मानन्धर (इमेज)

काठमाडौं, भदौ ६ । दुईतिहाइ बहुमतप्राप्त वर्तमान सरकारका गलत काम–कारबाहीलाई रोक्नु प्रमुख प्रतिपक्षीको जिम्मेवारी हो ।

तर, प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो त्यही पार्टीभित्र उठिरहेको छ ।

पार्टीभित्रको आन्तरिक विवादले कमजोर बनेको कांग्रेस बलियो प्रतिपक्षी बन्नबाट पटक–पटक चुकिरहेको छ ।

सरकारका काम–कारबाही सन्तुलनमा राख्न संसदमा प्रतिपक्षी दलको भूमिका बलियो हुनुपर्छ ।

संसदीय अभ्यासमा खारिएको कांग्रेस संसदीय इतिहासमै कमजोर प्रतिपक्षीकारुपमा देखिएको टिप्पणी हुन थालेको छ ।

बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिन नसकेको भन्दै पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।

अहिले मुलुकमा दुईतिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि ‘कम्युनिस्टले जिते अधिनायकवाद आउँछ’ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि त्यही नाराको ‘सेप’ लाग्दैछ । वैकल्पिक एजेन्डाभन्दा प्रतिक्रियामा सीमित देखिएझैं छ, नेतृत्व ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भने कांग्रेसले जनजीविकाका सवालमा आवाज उठाएपनि दुईतिहाइ मतको दम्भी सरकारले स्वेच्छाचारी प्रवृत्ति देखाइरहेको भन्दै बचाउ गर्छन् ।

प्रतिपक्षीको भूमिका रहेको नेपाली कांग्रेस एजेन्डाविहीनजस्तै देखिन्छ । संसदमा पनि सरकारको विरोध गर्नुपर्छ भन्ने ‘सनातनी परम्परा’मात्र धान्दै आएको छ ।

लोकतन्त्रमा अझ प्रमुख प्रतिपक्षी पार्टीलाई ‘छायाँ सरकार’ मानिन्छ । सरकारका काम–कारबाही निगरानी गर्न भन्दै छायाँ सरकार गठन गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर, उक्त एजेन्डा पनि हराएको छ ।

केन्द्रीय सदस्य पौडेल संसदमा खेलेको भूमिकालेमात्र सरकारको मनोमानी अन्त्य हुन नसक्ने भन्दै एजेन्डासहित जनतामा जानुपर्ने बताउँछन् ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो र विश्वसनीय ‘ट्रयाक रेकर्ड’ बनाएको कांग्रेस चुनावी परिणामपछि ‘कुहिरोमा हराएको काग’जस्तै बनेको छ । नेतृत्वको झगडामा संगठन लथालिंग छ ।

अबको बाटो कसरी तय गर्ने भन्ने निर्णय गर्न बोलाइने भनिएको महासमिति बैठक कहिले हुने टुंगो छैन ।

एजेन्डा र नेतृत्वविहीनता तोड्न नसक्दा दुईतिहाइ शक्तिका साथ सत्तामा रजाइँ गरिरहेको नेकपालाई एकलौटी मार्ग खुलेको छ ।

भिडियो हेर्नुहोस्