२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


देश दौडाहामा सत्ता गठबन्धन


52
Shares

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचन लक्षित चुनावी देश दौडाहालाई निरन्तरता दिएका छन् । सिट बाँडफाँटको कारण गठबन्धनआवद्ध दलका नेता तथा कार्यकर्तामा देखिएको असन्तुष्टि मेटाउन गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार देखि चुनावी देश दौहाडा सुरु गर्नुभएको थियो ।

शुक्रबार पोखरा र बुटवलमा संयुक्त कार्यकर्ता भेला गरेका गठबन्धनका शीर्ष नेताहरुले आज विराटनगर र जनकुरमा संयुक्त भेला आयोजना गरेका छन् । विराटनगरमा आज आयोजना गरिएको सत्तागठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र धरापमा पर्ने,संघीयता खारेज हुने अवस्थाबाट मुलुकलाई जोगाएको कारणपनि आसन्न निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन चुनाव जित्न र सत्ता पाउन नभएको जिकिर गर्दै जनताको बलिदानबाट प्राप्त परिर्वतनलाई बचाईराख्न भएको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लिकबाट बाहिर गएको संविधानलाई ठिक ठाउँमा ल्याउन गठबन्धन गरिएको बताउँदै निर्वाचनपछि पनि गठबन्धन कायमै रहने दाबी गर्नुभयो । सत्तागठबन्धनको संयुक्त भेला आजै जनकपुरमा हुँदैछ । भेलालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।