Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


दुईतिहाइको सरकार हुँदा पनि सरकारको काममा देखिएन स्थिरता (भिडियो)


0
Shares

सरोज अधिकारी/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ ६ । बलियो सरकारको अभावमा राजनीतिक अस्थिरताबाट जकडिएको मुलुकमा अहिले बलियो र स्थायी प्रकृतिको सरकार छ ।

तर पनि सरकार र विपक्षीको कार्यशैली अस्थीर कालखन्डकोजस्तै देखिनुमा नेताको चरित्र र जनमतप्रति विश्वास दिलाउन नसक्नु नै मुख्य रहेको टिप्पणी विश्लेषकहरुको छ ।

राजनीतिक अस्थिरताका कारण मुलुकको विकास हुन नसकेको भन्दै संविधानमा नै कम्तीमा दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेर स्थायित्वका लागि संवैधानिक प्रबन्ध गरियो ।

संविधान जारी भएपछिको निर्वाचनमा दुई पार्टी मिलेर बनेको गठबन्धनले लगभग दुईतिहाइ मत ल्यायो र पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीकै नेतृत्वमा दुईतिहाइको सरकार बन्यो ।

सरकार बनेको पनि ६ महिना भइसकेको छ । तर, सरकारको कार्यशैली भने पुरानै अस्थीर कालखन्डकोजस्तो छ ।

सरकारलेमात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन सकेको छैन ।

सरकारले पनि आफ्नो सरकार ९ महिने वा वर्ष दिनकोमात्र होइन भन्ने गरी आभाष दिन सकेको छैन । उही कतिन्जेल हो र ‘उठाउँ, खाऔं’ भन्नेजस्तो देखिन्छ ।

विपक्षी पनि ढुक्कैले अब पाँच वर्ष हामी सरकार बाहिरै हो भन्ने अनुभूति गर्न सकिरहेका छैनन् । जसले जनमानसमा राजनीतिक स्थिरताको आभाष गराउन सकेको छैन ।

राजनीतिक चिन्तक प्राध्यापक डा. कृष्ण खनाल अस्थिरताजस्तो देखिनुको मूल जड ‘नेताको चरित्रबारे जनता विज्ञ हुनु हो’–भन्छन् ।

‘सत्तारुढ दलका नेताको चरित्र जनतालाई प्रस्ट छ । उनीहरुबाट खासै परिवर्तनको अपेक्षा गर्ने अवस्था नहुने बुझाइमा मानिसहरु पुग्दैछन्’–खनालको निचोड छ ।

राजनीतिक अस्थिरताका सन्दर्भ भने वर्तमान राजनीति हेर्दा निकै पुरानो भइसकेको हुनुपर्ने लाग्छ । अहिले सरकार अत्यन्तै बलियो छ । उसले चाहेको सबै विषय गर्नसक्छ । तर, गरिरहेको छैन ।

केही विषय गर्न खोजे पनि त्यो जनताले आफू प्रतिकूलको भन्दै फिर्ता गराइरहेका छन् ।

स्थानीय तहले गरेको कर वृद्धिमा सरकार टिक्न नसक्नु र डा. गोविन्द केसीको मागमा सरकार सम्झौतामा पुग्नुले सरकारको कार्यशैली र यात्राप्रति प्रश्न उब्जेका छन् ।

प्राध्यापक खनाल मत पाउनु तर जनमतलाई कायम राखिराख्न नसक्नुले पनि ‘बलियो सरकारले लुते ताल’ देखाएको टिप्पणी गर्छन् ।

भिडियो हेर्नुहोस्