काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनका अनुसार जनताले, जनताद्वारा, जनताका लागि गर्ने शासन व्यवस्था नै लोकतन्त्र हो। चुनाव लोकतन्त्रको एउटा सुन्दर पक्ष हो । चुनावबाट जनताले आफ्ना लागि शासन गर्न नेता आफैं चुन्छन् । त्यसैले चुनाव लोकतन्त्रको एउटा महत्वपूर्ण पर्व पनि हो ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ । त्यसका लागि निर्वाचन गराउने संस्था र निर्वाचनमा सहभागी दलहरूबीच सन्तुलन कायम हुनुपर्छ ।
तर निर्वाचन आयोगले आम निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूलाई आचारसंहिताले कस्दै लगेको छ । निर्वाचनलाई निष्पक्ष, कम खर्चिलो बनाउने नाममा दिनहुँ निर्देशन जारी गर्दै आयोगले बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई नै कमजोर बनाउँदै आएको विश्लेषण हुन थालेको छ । पछिल्लो समयमा निर्वाचन निकै खर्चिलो बन्दै गएका बेला दलहरूलाई कसेर मात्रै खर्च कम होला भन्ने प्रश्न उठेको छ । निर्वाचन प्रणालीलाई नै परिवर्तन नगरेसम्म खर्च कम नहुने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।
निर्वाचन प्रणालीलाई पुनरवलोकन नगरेसम्म दलहरूलाई कसेर मात्रै खर्च कम नहुने उनको तर्क छ । ‘दलहरूलाई कसेर केही पनि हुन्न । यो कागजी रूपमा हुन्छ । निर्वाचन प्रणालीलाई पुनरवलोकन नगरेसम्म खर्च कम हुँदैन,’ उनले भने, ‘निर्वाचन प्रणाली, प्रक्रिया, विधि र प्रविधि एकमुष्ट रूपमा पुनरावलोकन गर्नु जरुरी छ ।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्