तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको वर्चश्व « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको वर्चश्व


91
Shares

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी तेक्वान्दोकाे स्वर्ण पदकमा विभागीय टिमहरुले वर्चश्व कायम गरेका छन् ।

३ वटै विभागीय टिमले सोमबार भएको खेलबाट २-२ वटा स्वर्ण पदक थपेका हुन् । राष्ट्रिय खेलकुद परिषदकाे आयोजनामा बेनीको कालिपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिंदा नेपाल पुलिस क्लबले ८ वटा स्वर्ण स्वर्ण पदक जितेको छ । हालसम्म त्रिभुवन आर्मी क्लबले ५, एपीएफ क्लबले २ र मधेश प्रदेशले १ वटा स्वर्ण पदक जितेकाे राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिएका छन् ।

पुलिसले ३, सेनाले ६, एपीएफले २, लुम्बिनीले २ , सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले १/१ वटा रजत पदक जितेका छन् । यसैगरी, गण्डकी र प्रदेश १ ले ७/७, एपीएफले ६ , मधेश र बागमतीले ३/३, लुम्बिनी र सेनाले २/२ , पुलिस र कर्णालीले १/१ वटा कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिएका छन् ।

सोमबार राति १०ः३० मा सकिएको फाइनल खेल अन्तर्गत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा पुलिसकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा एपीएफका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा पुलिसका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।

महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, एपीएफका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश-१ की सविना माझी र एपीएफकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपीएफकी रेजिना पार्कीले कास्य पदक जितेका छन्।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा पुलिसका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी, मधेशका प्रवली बस्नेतले कास्य, पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपीएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । ७ वटा प्रदेश, ३ वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताएका छन् ।

स्वर्ण र रजत २२/२२ तथा ४४ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएकाे छ ।