प्रकाशमान सिंहद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


प्रकाशमान सिंहद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक


221
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एंव सत्तागठबन्धनको तर्फबाट काठमाडौ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

काठमाडौमा सोमबार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता सिंहले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्तागठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका मुलभूत मुद्दामै सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार दिन नसकेको टिप्पणी गर्दै नेता सिंहले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।

नेता सिंहले आफू काठमाडौंबाट निर्वाचित भएपछि नेपाल सरकारको उपप्रधानमन्त्री बनाएर कांग्रेसले क्षेत्र नम्बर १ का मतदातालाई सम्मान गरेको धारणा राख्नुभयो । आफूलाई पुनःपाँच वर्ष काम गर्ने अवसर दिनसमेत आग्रह गर्दै नेता सिंहले यस क्षेत्रका बाँकी काम सम्पन्न गर्न फेरी उम्मेद्वारी दिएको बताउनुभयो ।

नेता सिंहले संसद र सरकारमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गर्नुभएको छ ।

देशको विकास,समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न केन्द्रमा प्रभाव, क्षेत्रमा विकासको मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको सिंहको भनाइ छ ।