Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सधैँ सक्रिय


338
Shares

काठमाडौं । हरेक मान्छेको चाहना हुन्छ– सुखी बन्ने । कोही आफ्नो र परिवारको स्वार्थमा मात्र सुख भेट्छन् भने कोही परकल्याणमा। आफ्ना लागि त पशु पनि बाँच्छ, समाजका लागि बाँच्नेहरू महान् हुन्छन्। त्यस्तै सामाजिक अगुवा हुन्– सत्यमोहन जोशी । तिनै संस्कृतिविद्को नाम सम्झनेबित्तिकै श्रद्धाले शिर झुक्छ। सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत समर्पित जोशी सतायुमा आइपुग्दा पनि उत्तिकै चिन्तनशील छन्। मानव हितमा क्रियाशील छन्।

सादा जीवन उच्च विचारले उनको जीवन सार्थक भएको छ। स्वर्णिम बनेको छ। जुरेली दर्शन पच्छाएकैले आत्मसन्तुष्टि मिलेको छ। नेपाली समाज उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनेर सम्बोधन गर्छ। संस्कृति, कथा, कविता, उपन्यास, नाटक आदि वाङ्मयका विभिन्न फाँटमा अतुलनीय योगदान पुर्‍याएकाले उनलाई वाङ्मय शताब्दी पुरुष भनिएको हो।

नेपाली साहित्यमा मदन पुरस्कार सम्मानित छ। जुन पुरस्कार पाउँदा स्रष्टाहरूको उचाइ बढ्छ। लोकप्रियता चुलिन्छ। जीवनमा तीन–तीन पटक मदन पुरस्कार पाउने भाग्यमानी सत्यमोहनमात्र हुन्। उनको भाग्यरेखा भावीले कोरिदिएको होइन, उनी आफैँ कोरेका हुन्। निरन्तर साधना र सत्कर्मबाट भाग्य चम्कन्छ। उनको जीवनले यही देखाउँछ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।