१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना: सूर्यप्रसाद अर्याल « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना: सूर्यप्रसाद अर्याल


91
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ ।

आयोगले दिएको तोकेको समयसीमाभित्र नै प्रतिनिधि सभा तर्फका सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो । शुक्रबार संचारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहिबारसम्म १ सय ६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताउनुभयो ।

उहाँले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताउनुभयो । स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार र शनिबारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताउनुभयो ।

उहाँले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने बताउनुभयो । सहप्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताउनुभयो । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

सह प्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताउनुभयो । उहाँले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताउनुभयो ।

उहाँले ठूलो दलहरु दल दर्ता गर्न जाँदा भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने बताउनुभयो । उहाँले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्नेकुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

सहप्रवक्ता अर्यालले मनोनयन दर्ताका लागि जाने क्रममा भीडभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको बताउनुभयो । उहाँले मनोनयनका लागि एकैपटक भीड नबढाउन दर्ता स्थल फरकफरक गर्ने, ठूला दलहरुको लागि समय मिलाउने र आचारसंहीता अनुसार २५ जना मात्रै सहभागी बन्ने हो भने व्यवस्थित रुपमा मनोनयन प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

सहप्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताउनुभयो ।