Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


भारत–चीन मुठभेडको असर क्षेत्रीय सुरक्षामा पर्ने चिन्ता


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार ३ । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्र गलवान उपत्यकामा हिंस्रक झडप भएपछि त्यसको असर क्षेत्रीय सुरक्षामा पनि पर्ने आशंका गरिएको छ ।

चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)अन्तर्गत् चीनले ठूलो लगानी गरिरहेको क्षेत्रमा उत्पन्न तनावको प्रभाव नेपाल–भारतको सम्बन्धमा पनि पर्ने त होइन ? भन्ने आशंका पनि गरिँदै छ ।

नेपाली भूमि कालापानी भारतका लागि ठूलो रणनीतिक महत्वको स्थान भएकाले नेपालसँगको वार्ता अझै अन्योलपूर्ण हुने सम्भावना छ ।

एसियाका दुई उदाउँदा शक्तिबीचको तनावले पूरै विश्व तरंगित भएको छ । लद्दाखको गलवान उपत्यकाको स्वामित्वलाई लिएर बढिरहेको तनाव कम गर्न दुई पक्षबीच वार्तासमेत चलिरहेको बेला सोमबार राति अचानक हिंस्रक झडप भएको हो ।

भारतीय रक्षा मन्त्रालयले झडपमा एक कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको पुष्टि गरेको छ भने चिनियाँ पक्षले मृतक तथा घाइतेको संख्या र अवस्था खुलाएको छैन ।

यी दुई शक्तिबीचको टकरावको असर दक्षिण एसियाको सुरक्षा र राजनीतिमा पनि पर्ने निश्चित छ । त्यसमाथि दुई शक्तिको बीचमा रहेको नेपालमा त ठाडो असर पर्नसक्छ ।

कालापानी, लिम्पियाधुरा क्षेत्रलाई लिएर पछिल्लो समय नेपाल र भारतबीच दूरी बढेको छ । यसैपनि वार्तामा बस्न तयार नभएको भारतले नेपालसँगको वार्ता झन् पर धकेल्ने हो कि भन्ने आशंका उब्जाएको छ ।

जसरी लद्दाख चीन र भारतका लागि सामरिक महत्वको क्षेत्र हो, कालापानी पनि भारतका लागि उत्तिकै रणनीतिक महत्वको विन्दु हो ।

दुई देशको तनावको असर सम्पूर्ण हिमाली भेगमा पर्ने सम्भावना भएकाले यसको असर दीर्घकालमा कालापानीसम्म आउने बताउँछन्, सामरिक मामिलाविद् तथा पूर्वउपरथी बिनोज बस्न्यात ।

चीनसँगको झडपपछि भारत नयाँ रणनीतिमा जुट्नसक्ने अनुमान पनि गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शान्ति चाहने तर कसैले उत्तेजित बनाउन खोज्छ भने जवाफ दिने बताइसकेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले घटनालगत्तै तीनवटै सैनिक संगठनका प्रमुखहरूसँग छलफल गरेका छन् ।

४५ वर्षपछि भारत–चीन सीमामा पहिलोपटक भारतीय सैनिकको मृत्यु भएकाले भारतका लागि नेपालसँगको विवादभन्दा चीनसँगको तनाव नै प्राथमिकतामा पर्ने र त्यसले नेपाल–भारत वार्तालाई पर पु¥याउने संकेत गर्छन्, पूर्वउपरथी बस्न्यात ।

भारत र चीनबीच जोडिएको तीन हजार ४८८ किलोमिटर लामो सीमामध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा ‘लाइन अफ एक्चुयल कन्ट्रोल’ कुन हो भन्ने टुंगो लागेको छैन । तर, भारतले त्यही विवादित क्षेत्र हुँदै ‘रिङरोड’ बनाउने आयोजना अघि बढाइरहेको छ ।

यता, नेपालसँगको सिमानामा पनि भारतले त्यस्तै पूर्वाधार बनाइरहेको छ । जसका कारण नेपालसँगको सम्बन्ध पनि सुमधुर हुनसकेको छैन ।

यो अवस्थालाई अन्त्य गर्नका लागि भारत वार्तामा आउनुको विकल्प छैन ।

भिडियो हेर्नुहोस्