Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै स्वदेश फिर्ता गर्न माग


130
Shares

काठमाडौं, असार ३ । सांसदहरुले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारी खर्चमै स्वदेश फिर्ता गर्न माग गरेका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद रामनारायण विडारीले महामारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएकोतर्फ ध्यानाकर्षण गराउँदै निःशुल्क घर फर्किने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सांसदहरुले ‘क्वारेन्टिन’ व्यवस्थित बनाउन र ‘पीसीआर’ परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद विमला राई पौडेलले जनतालाई घर–घरमा सेवा दिने भनेर संघीय व्यवस्था लागू गरेपनि महामारीको रोकथामका लागि स्थानीय तहमा भएका क्वारेन्टिनको अवस्था अव्यवस्थित भएकोप्रति चिन्ता व्यक्त गरिन् ।

सांसद शेरबहादुर कुँवरले महामारी सुरु भएपछि सुदूपश्चिम प्रदेशमा भारतबाट ९० हजारभन्दा बढी नेपाली नागरिक भित्रिएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेपनि कोरोना परीक्षण हुन नसकेको बताए ।

सांसद तारादेवी भट्टले कैलालीमा क्वारेन्टिनमा भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरिन् ।