
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको सूचीमाथी संशोधित सूची बुझाउन अब एक दिन मात्र बाँकी रहेकाे छ ।
निर्वाचन आयोगले असोज १६ गते आइतबारसम्म संशोधित सूची बुझाउन सम्बन्धित दललाई पत्र पठाईसकेको हाे । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिनुपर्ने छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताकाे विषयमा सम्बन्धित दललाई जानकारी दिनुपर्ने हुन्छ ।
असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने निर्वाचन कार्य तालिका रहेकाे छ । असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोधका लागि निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
दलहरुले असोज २ र ३ गते समानुपातिक बन्दसूची पेश गरिसकेका छन् । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ ।
असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्