काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ ।
पाँच दिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो आग्रह गरेका हुन् ।
‘पाकिस्तान र चीनका नागरिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन् । उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बलको भूमिका हुनुपर्छ,’ एसएसबीका महानिर्देशक थाउसेनलाई उद्धृत गर्दै भेटमा सहभागी सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।
नेपाल–भारत सीमा सुरक्षा, व्यवस्थापन र समन्वय बैठकमा पनि एसएसबीका महानिर्देशक थाउसेनले नेपालले तेस्रो मुलुकका नागरिकलाई भारत प्रवेश र उनीहरूका अवैध गतिविधिमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले नेपाली भूमिबाट भारतविरोधी गतिविधि नभएको र तेस्रो मुलुकका मानिस भारततर्फ पनि नपसेको बताएका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्