९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


‘क्वारेन्टिन’मा सामूहिक बलात्कार, पीडित के भन्छिन् ? (भिडियो)


0
Shares

बिराज रोस्यारा र प्रज्ञा तिमल्सिना (इमेज)

कैलाली, काठमाडौं, असार १ । कोरोनाभाइरसको संक्रमण र जोखिमलाई कम गर्न सरकारले संक्रमण फैलिएका देश वा जिल्लाबाट आएकालाई अनिवार्यरुपमा १४ दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने व्यवस्था लागू गरेको छ । जसको व्यवस्थापनको जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिइएको छ ।

तर, क्वारेन्टिनहरु असुक्षित हुँदा धेरैको क्वारेन्टिनमै मृत्यु भइरहेको बेला कैलालीको क्वारेन्टिनमा एक महिलाको बलात्कार नै भएपछि क्वारेन्टिनहरु कति अव्यवस्थित र असुरक्षित छन् भन्ने प्रस्ट भएको छ ।

क्वारेन्टिनहरु कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बनिरहेको बेला क्वारेन्टिनमा रहेकी एक महिलामाथि बलात्कारजस्तो जघन्य अपराध सार्वजनिक भएको छ ।

कैलालीको लम्कीचुहास्थित क्वारेन्टिनमा बसेकी एक महिलामाथि जेठ ३२ गते क्वारेन्टिनका स्वयंसेवक भन्नेहरुबाट सामूहिक बलात्कार भएको हो ।

पीडित महिलाले हारगुहार गर्दा क्वारेन्टिननजिकै घर भएका सर्वसाधारणले थाहा पाए ।

घटना लुकाउन खोजिएको भन्दै सर्वसाधारणले वडा कार्यालय तोडफोड गरेपछि प्रहरीले तीनजनालाई हिरासतमा लिएको छ ।

१२ दिनअघि भारतबाट आएर क्वारेन्टिनको कोठामा एक्लै सुतिरहेकी उनले आफूमाथि स्वयंसेवक र स्वास्थ्यकर्मी मिलेर बलात्कार गरेको आरोप लगाएकी हुन् ।

बलात्कारीहरुले भिडियोसमेत खिचेको महिलाको आरोप छ ।

यो घटनाले क्वारेन्टिनको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

बलात्कारको घटना भएको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले क्वारेन्टिनहरु असुरक्षित रहेको स्वीकार गरे ।

देशभर डेढ लाख व्यक्ति क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमा रहेकाहरुको सुरक्षा तथा खाने–बस्ने व्यवस्थापनको जिम्मा स्थानीय तहको हो ।

सरकारले क्वारेन्टिन व्यवस्थापनको मापदण्ड बनाएर रकमसमेत पठाइसकेको छ ।

क्वारेन्टिनहरु नाममात्रैका रहेको र त्यहाँ बस्नेहरुलाइ भेडाबाख्रासरह राखिएको भनेर आलोचना भइरहेको बेला बलात्कारको घटनासमेत भएपछि सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने देखिएको छ । अन्यथा यस्ता घटना नदोहोरिएला भन्न सकिँदैन ।

भिडियो हेर्नुहोस्