काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्ले इतिहासमा विशिष्ठ महत्व राखेको छ ।
विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
आज ७४औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनको विरुद्धमा केन्द्रित भएको थियो ।
राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ विरोध गर्दै देशभर जागरण फैलाएका थिए ।
यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो । देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको बनारस पुगेका थिए ।
बनारसमा राणाशासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका काँग्रेसका संस्थापक विपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए ।
त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत् रुपमा दर्ता गरिएको थियो ।
त्यसै वर्षदेखि संस्थागत रुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । रासस









प्रतिक्रिया दिनुहोस्