Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


शेखर काेइराल पक्षले गर्‍याे आन्दोलनकाे घोषणा


2.3k
Shares

काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन् ।

ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ ।

नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन् ।

असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ ।

उनीहरूले चियापानका लागि भने शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेका छन् । समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर–गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ ।