काठमाडौं । नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा आन्तरिक मूल्याकंन पद्धतिबाट टुंग्याइ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाको मान्यता दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदैं सबै विद्यालयलाई `होम सेन्टर` र नजिकको विद्यालयलाई अव्जरभेसन गर्ने गरी महामारीको न्युनिकरण पश्चात परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गर्दै नेविसंघले मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
यसका साथै महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र यसबाट उत्पन्न चुनौतीको सामना गर्न ठोस कार्ययोजना बनाइ अघि बढोस भन्दै नेविसंघले १६ बुँदे ज्ञापनपत्र बुझाएको महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।
बजेट वक्तव्यमा भएको १६६ नम्बरको अपमानजनक व्यवस्था खारेज गर्नुपर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बन्द गर्नुपर्ने, प्रविधि पहुँच हरेक विधार्थीसम्म पुर्याउनुपर्ने, पुस्तकमा लगाएको कर छुट गर्नुपर्ने जस्ता छन् ।
त्यस्तै सरकारीलाई क्वारेन्टाइन बनाएर निजि विद्यालय खोल्न नहुने, पुस्तक घर-घरमा पुर्याउने व्यवस्था मिलाउनुपर्ने, विद्यार्थीलाई मनोसामाजिक परामर्शहरु दिनुपर्ने, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न नसकेको जस्ता बुँदाहरु ज्ञापनपत्रमा उल्लेख गरिएका छन् ।
त्यसैगरी सबै विद्यालय तथा क्याम्पसहरुले शैक्षिक संस्था नखुलुन्जेलको अवधिभरको कुनै पनि प्रकारको शुल्क लिने कार्य बन्द गर्न पनि नेविसंघले ध्यानाकर्षण गराएको महामन्त्री तिमल्सिनाले जानकारी दिए ।
विभिन्न माध्यमबाट पढाइलाई निरन्तरता दिने शिक्षा मन्त्रालयले भनेपनि विभिन्न सरोकारवाला निकायसँग छलफल नगरेकाले नेविसंघले ज्ञापनपत्रमार्फत विभिन्न शैक्षिक विषयमा ध्यानाकर्षण गराएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्