काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा अलपत्र नेपाली ल्याउन गरिने चार्टर्ड उडानको भाडा घटाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार सिंहदरबारमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीसँग गरेको छलफलपछि हवाई भाडादरमा पुनरावलोकन गरिएको हो ।
छलफलमा पर्यटनमन्त्री भट्टराईले हालको प्रस्तावित हवाई भाडा समायोजन गर्न दुवै एयरलाइन्सलाई अनुरोध गरेका थिए ।
सोहीबमोजिम निगमले हवाई भाडादरमा पुनरावलोकन गरेको जनाइएको छ । कूल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको छ ।
“यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयासस्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हो”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रलगायत नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुकबाट नेपाली नागरिकलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।
घटेको नयाँ भाडादरअनुसार मलेशियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दोहाको ४९० डलरबाट घटाएर ३९२ डलर बनाइएको छ ।
दुबईको ३६० डलर भाडा लाग्नेछ भने साउदी अरेबियाको दमामका लागि ४३० र ५९० डलर कायम गरिएको छ ।
ओमानको ३६८, बहराइनको ३९२ डलर भाडादर कायम गरिएको छ । कुवेतको भाडा ४१०, जोर्डनको ६७५ र साइप्रसको ७३० डलर भाडादर तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्