‘डिजिटल’ बन्दै दशैं « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


‘डिजिटल’ बन्दै दशैं


1.027k
Shares

दशैं आम हिन्दुहरूको महान चाड । अझ यो देश विदेशमा रहने सम्पूर्ण हिन्दुहरूको विशेष पर्व । यो अत्यन्त उल्लास र भक्तिभावपूर्ण तरिकाले मनाइन्छ । यस चाडमा घरदेश र परदेशमा रहनु हुने सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनी र आफ्न्त तथा ईष्टमित्रहरू पर्व मनाउने धुनमा हुन्छन् ।

उहिले उहिले दशैं पारम्परिक शैलीमा मनाइन्थ्यो । त्यो शैलीलाई अहिले अग्र्यानिक शैली भनिन्छ । अहिले दशैंको शैली फेरियो अब हामीले मनाइने शैली ब्रोइलर भाँतीको भयो । मानिसका इच्छा र चाहनाहरू समेत बद्लिए । हिजो र आजको दशैंमा अहिले आनका तान फरक देखिन्छ ।केकेमा छन् त यी फरकहरू भन्दा केकेमा छैनन् भनेर प्रश्न गर्न सकिन्छ ।

हिजो दशैं बोकिएर आउँथ्यो । या तुल्याएर जम्मा हुन्थे –माल सर्जामहरू । रातो माटोले घर लिपिन्थ्यो । कमेरो छेपिन्थ्यो । केराका घरी बारीबाट चट्ट काटेर ल्याई आँगनमा खाडल बनाई त्यसलाई आगोले पोली केराका घरीमा पराल खाँदेर माटाले छोपेपछि ४/५ रात राखेर केरा पहेँलपुर हुन्थे ।

अहिले दशैंमा बजारमा राखेका जहाजी केरा किन्न जतिखेर भन्यो उतिखेर पाइन्छ । कसैकसैले गाउँघरतिर आफ्नै बारीझाडीमा खेती गरेर फलाए पनि त्यसमा त्यतिका झन्झट गरिंदैन । मात्र कार्बेट हालेर एक रातमै फतक्क गल्ने गरी पकाउने गरिन्छ । दशैंका लागि भनेर खसी पालिन्थे । एउटा दुईटा बेच्यो अनि बाँकी रहेको घरमा काट्यो । दशैंमा खसी काटेका दिन केटाकेटीहरू खसीको कान खानका लागि लडाइँ गर्दथे त्यो रमाइलो हुन्थ्यो । खसीका कानमा केटाकेटीको झगडा हुन्थ्यो । अहिले दुईचार किलो मासु पसलबाट ल्यायो प्रेसर कुकरमा हतार गरी पकायो । साप्प सुप्प पारेर खायो । के कान, के खुट्टा ? केही थाहा हुन्न अहिलेका केटाकेटीहरूलाई ।

जमाना बद्लियो । मान्छे बद्लिए । संस्कार र संस्कृति सबै बद्लिए । त्यसैले दशैँको अर्थशास्त्र पनि नयाँ संस्करणमा आयो । अब दशैँ सर्वथा नयाँ भयो ।

भनिन्छ –दशैंले नेपाली अर्थतन्त्रको कूल बजेटमध्ये एक तिहाई बजेट खर्च गर्ने गर्छ । त्यसैले दशैंले अर्थतन्त्रलाई नै चलायमान बनाउने गर्दछ । हलोदेखि हाइड्रोसम्म, साइकलदेखि हेलिकोप्टसम्म सबै सबैको बजार र बजेटसमेत दशैंका निहूँमा आकासिन्छ । किरानादेखि मेसिनरीसम्म, तरलदेखि झरलसम्म सबै सबै दशैंले गिजोल्छ बजारलाई ।

खानपान, लत्ताकपडा, मदिरा, खाद्यान्न, यातायात र माछामासु समेत यो समयमा धेरै विक्री हुन्छन् । त्यसैले दशैंलाई हिन्दू धर्मावलम्बीहरूले मान्ने चाडहरूमा सबैभन्दा धेरै अर्थतन्त्र चलायमान गर्ने चाडका रुपमा लिइन्छ ।

गाउँघरमा अहिले सहरबजार तिरबाट र विदेशबाट दशैँमा घर आउनेको संख्या निक्कै ठूलो हुने हुनाले दशैंमा धेरै चहलपहल हुन्छ । कसैकसैले भन्छन् –दशैं गाउँघरमा औधी रमाइलो र तिहार सहर बजारमा । अनुभवबाटै निःसृत यी ज्ञानहरूले धेरै नै शिक्षा दिन्छन् ।

हिजोको जमानामा दशैंका बारेमा धेरै पक्षबाट मानिसहरू हेर्थे । व्याख्या गर्थे । लम्मेतान मीमांशा छाँट्थे । तर अहिले दशैंको रौंनक नै फेरियो । दशैंको अर्थशास्त्र पूरै बद्लिएको अवस्था छ । हिजो बालीघरे दमाई घरका आँगनमा आएर हाते कल राखेर खिटिटीखिटिटी गर्दै केटाकेटी, तरुनातरुनी र बुढाबूढीका लुगाहरू सिएर आफ्नो बाली पकाएर जान्थ्यो भने अहिले सहर बजारमा टेलर्स र सर्टिङ् एन्ड सुर्टिङ्मा कपडा सिलाउने जमाना आएको छ । अझ रेडिमेडका कपडाहरूले बजार पिटेको पाइन्छ । फेसनमा कन्सस मानिसहरू बढ्दै गएकाले पनि अहिले बालीघरे दमाईहरू गाउँघरमा समेत लोप भैसकेका छन् ।

हिजो कोठे बारीमा घिरौंला साँचेर, काँक्राहरू थाङ्ग्रामा सिका लगाएर पटपटी फुटाएर खल्पीका लागि गृहस्थीहरू पर्खन्थे भने अहिले त्यसो गरिरहनु पर्दैन । सहरका तरकारी बजारमा गएर आफूलाई मन परेका तरकारी छानीछानी किनेर खाए पुग्छ ।
सबै उपभोक्तावादी समयले पुराना कुराहरू नासिदियो । नयाँ कुराहरू ल्याइदियो । फलतः दशैं जस्ता चोखा चाडहरू पनि अनेक भाउँतोमा परेर बिटुलिए । गाउँमा बाबियोको लठारो बाट्नका लागि बाबियो उठाउने चलन थियो । डोरीका लागि गाउँलेसँग सरय (सबैले बराबरी) गरेर पैसा उठाइन्थ्यो । लिङ्गे पिंङ गाउँका बीचमा हालिन्थ्यो । पहाडतिर रोटेपिंङ, जाँते पिंङ र घरका दलान या पिंडीमा बनाइने सानातिना पिंङले उधुमै प्राथमिकता पाउँथे । अब त्यो जमाना रहेन । सक्नेले फलामकै पिंङ घरघरमा जडान गरेका छन् ।

समयले फड्को मार्‍यो । मानिसहरू बद्लिए । चालचलनहरू समेत मिनी हुन बाध्य भए । जागिर,व्यापार, ठेक्कापट्टा, श्रम र अन्य सेवाहरूमा मानिसहरू लागिपर्नाले समय कम हुँदै गयो । अब दशैं घटस्थापनाका दिन आउँदैन । फूलपातीका दिनदेखि जब विदा सुरु हुन्छ अनि मात्र आउँछ । प्लास्टिकका झोलामा बेसाहा गरेर ल्याएका चिजबिज र सामग्रीले दशैं मान्ने नेपालीहरू लगभग ९९ प्रतिशत नै भइसके ।फरक देखियो । हिजो दशैं बोकिन्थे भने आज बेसाहा गरिन्छन् ।

यसो हुनाले दशैंको रौनकमै फरक परेको छ । अहिले त कतिपयले डिजिटल दशैं पनि भन्ने गरेका छन् । उहिले नयाँ लुगा, नयाँ कडुकडिया नोटमा केटाकेटीहरू भुल्थे । अब त टिका लगाइदिएर पैसा ट्रान्सफर गर्ने दिन आए । मानिसका जीविकोपार्जन गर्ने शैली बद्लिए ।

दशैँ फरक भयो । पृथक शैलीमा दशैं मानिन थालियो । दशैंले अहिले घरदेश र परदेशलाई एकैथरीले छुन्छ । एकैप्रकारले भोग्छ । स्काइपमा टिको लगाउने र ल्यापटपको स्क्रिन छुने अनि आफन्तलाई प्रविधिमै ‘ठूली’ गरेर आर्शिवाद लिने चलन देशैभरी छ्याप्छ्याप्ती भैसक्यो ।

जेजति भए पनि दशैं मानिने चलन भने नेपालीले छाडेका छैनन् । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दशैं घरमा देवी दुर्गा माताको पूजा अर्चना गरेर दशैं मान्ने चलन अझै हटेको छैन् । हाँस, कुखुरा, बोका, भेडा, राँगा र परेवा बलि दिएर अझै मानिसहरूले दशैंलाई एकातिरबाट बलिमय बनाइरहेका छन् भने अर्कातिरबाट विना बलिको दशैंको पनि अभ्यास गरिरहेका छन् । को ठिक को बेठिक भन्दा पनि दशैंको रमझममा रमेर आफ्नो पुरानो संस्कृतिलाई जर्गेना गर्नु नै अहिलेका लागि सबै भन्दा धेरै श्रेयश्कर रहेको छ ।

दशैं खासगरी अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको, पापमाथि पुन्यको, व्यभिचारमाथि सदाचारको र अन्धकारमाथि प्रकाशको विजयको पर्व हो । यसलाई कम खर्चमा धेरै आनन्द कसरी प्राप्ति गर्न सकिन्छ त्यो हेरेर मात्र हामीले पाइला चाल्नु पर्छ । यसैमा सबैको भलाइ रहेको छ । दुर्गा माताले हामी सबैको कल्याण गरून !