Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन


0
Shares

गृष्मा राजभण्डारी र खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, जेठ ३१ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै केही दिनयता राजधानीलगायत देशैभर भइरहेको प्रदर्शनलाई शनिबार पनि निरन्तरता दिइएको छ ।

सामाजिक सञ्जालमार्फत् स्वःस्फूर्तरुपमा जम्मा भएर प्रदर्शन गरेका युवाहरुले शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा मण्डलामा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिइएको ब्यानरमै सोधिएको थियो– ‘१० अर्बको हिसाब खोई ?’

अघिल्ला प्रदर्शनहरुमा पनि सरकारको काम–कारबाहीको पारदर्शीताको माग गरिएको थियो भने शनिबार पनि ‘पीसीआर’ परीक्षणको दायरा बढाउन, ‘क्वारेन्टिन’को उचित व्यवस्थापन गर्न उनीहरुले माग गरेका थिए ।

सरकारको चर्को आलोचनासहितको प्लेकार्ड बोक्नेहरुको संख्या धेरै थियो भने केहीले अनुहारमा बेसार दलेर प्रधानमन्त्रीलाई व्यंग्यसमेत गरेका थिए ।

चर्को घामको पर्वाह नगरी काठमाडौंका विभिन्न स्थानबाट भेला भएका उनीहरुलाई प्रहरीले सामाजिक दूरी कायम गरी बस्न पटक–पटक ‘माइकिङ’ गरेको थियो ।

यसअघिका प्रदर्शनहरुमा धरपकड, लाठीचार्ज, पानीका फोहोरा प्रहारसमेत भएकोमा शनिबार भने प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रहरीलाई गुलाबको फूल दिइरहेका थिए भने कसैले राष्ट्रियगान गाइरहेका थिए ।

माइतीघर मण्डलादेखि पूर्वमा नयाँबानेश्वर जाने बाटोसम्म सयौंको संख्यामा भेला भएकाहरुमध्ये केही विदेशी नागरिक पनि थिए ।

प्रदर्शनमा सहभागिता जनाएका केही विदेशीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालमार्फत् स्वःस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवाहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब रुपैयाँको पारदर्शीतालाई मुख्य नारा बनाएका थिए ।

अघिल्ला प्रदर्शनको तुलनामा शनिबार सुरक्षाकर्मीको तैनाथी व्यापक थियो ।  माइतीघर मण्डलामा मात्रै नभइ मण्डला प्रवेश गर्ने मूल बाटोमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सरकारको क्रियाकलाप र सर्वसाधारणको पीडामा देखाएको रबैयाप्रति जनता खुसी छैनन् भन्ने प्रस्ट संकेत प्रदर्शनले गरेको छ । त्यसैले यस्ता प्रदर्शनलाई सरकारले बेलैमा बुझ्नु जरुरी छ ।