काठमाडौं । विश्वमा अलपत्र परेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन् ।
सरलरुपमा नेपाल फर्काउने व्यवस्था मिलाउन संघका अमेरिका, मध्यपूर्व, युरोप र अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजकले अनुरोध गरेका छन् ।
संयुक्तरुपमा निकालिएको विज्ञप्तिमा हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गरिएको छ ।
वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान अनुरोध गरिएको छ ।
नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् ।
यता,कतारस्थित नेपाली दूतावासले स्वदेश फर्किने ५ हजार १ सय १२ नेपालीको सूची सार्वजनिक गरेको छ ।
दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती,संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ ।
यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई पनि नेपाल फर्काउने सूचीको प्राथमिकतामा राखिएको छ ।
दूतावासका अनुसार यही जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट नेपाली स्वदेश फर्किनेछन् । हवाई भाडा भने आफैले तिर्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्