
काठमाडौं । अरुण श्रेष्ठ ६ वर्षको उमेरदेखि काठमाडौंको हात्तीसारमा बस्दै आएका छन् । बुबा निरञ्जनभक्त श्रेष्ठले ५५ वर्षअगाडि किनेको ‘जायजेथा’मा जीवन गुजारा गर्दै आएका श्रेष्ठ ६१ वर्षको उमेरमा अचानक त्रसित बने ।
घरजग्गाको वैधानिक कागजपत्र हुँदा पनि टुकुचा उत्खननका नाममा घर भत्काउने भन्ने महानगरपालिकाको ‘लहड’ले अचानक तनाव दिएको उनले सुनाए । ‘जग्गाको नक्सा हेर्यौं, घर बनायौं, हामीले के बिरायौं ?’ ८९ वर्षकी आमासँगै बस्दै आएका अरूणले भने, ‘बाल्यकालदेखिको लगाव रहेको आफ्नो घर भत्काउने महानगरको ‘लहड’ ले सिंगो परिवार दुःखी बनेको छ ।’
५५ वर्ष आफूले बिताए पनि यो घरसँग आफ्नोभन्दा बढी लगाव आमाको रहेको उनले सुनाए । तीन वर्षअगाडि बुवाको मृत्यु भएसँगै घर छाड्ने कुरा गर्दा आमा निराश भएको उनले सुनाए ।
‘यो घरमा मेरो पतिको रगत/पसिना मिसिएको छ,’ आमाको भनाइ अरुणले सुनाए, ‘बाँचुन्जेल यही घरमा बस्नेछु ।’ आमाको सपनाको घर भत्काउने महानगरको निर्णयलाई उनी ‘महाभूल’ को संज्ञा दिन्छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्