Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सुनसरीमा चाडपर्व लक्षित सुरक्षा योजना


52
Shares

सुनसरी । सुनसरी प्रहरीले दशैँ, तिहार र छट पर्वमा हुने सम्भावित अपराधिक घटना नियन्त्रण गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

चाडपर्व शान्ति पूर्वक सम्पन्न गराउन र सर्बसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउन जिल्लाभरी प्रहरीले विशेष सुरक्षा योजना सुरु गरेको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

भारतको विहार राज्यसँग जोडिएको सुनसरीमा खुल्ला सीमानाको मौका छोपी अपराधिक समुहबाट हुने चोरी, डकैती, तस्करी, अबैध हातहतियारको ओसारपसार, लागु औषद्यको कारोवार लगायतका अपराधिक घटना नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको एसपी ढकालले बताउनुभयो ।

उहाँले भारतबाट खुल्ला सीमानाबाट तस्करी गरी ल्याइएको १ करोड ५२ लाख ८ हजार ६ सय ६८ रुपैयाँको सामान पक्राउ गरेर भन्सार कार्यालय सुनसरीमा बुझाइएको बताउनुभयो । एसपी ढकालले सुनसरीका मुख्य बजारहरुको सुरक्षाका लागि सादा पोसाकमा प्रहरी परिचालन गरि निगरानी बढाइएको बताउनुभयो ।

प्रहरीले चाडबाडको मौका छोपी सुनचाँदी पसल, बैंक तथा वित्तिय संस्थाहरुमा हुने चोरी डकैतीका घटनालाई मध्यनजर गर्दै हतियार सहितको टोली तैनाथ गरेको छ । यसैगरी चाडबाडमा हुने तासजुवा नियन्त्रण गर्ने क्रममा हिजो राति धरानबाट २ लाख ५१ हजार नगदसहित ८ जनालाई पक्राउ गरेको छ ।