
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ ।
आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको हो ।
अध्यक्ष दाहाल भन्नुभयाे ,‘राष्ट्रपतिको कदम संविधानविरुद्ध छ, लोकतन्त्रविरुद्ध छ, गणतन्त्रविरुद्ध छ र समावेशी तथा समानुपातिकविरुद्ध छ ।’
उनले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताउनु भयो । राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डको भनाइ छ ।
२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु भएकाे थियाे।
संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नु भएन ।
प्रतिक्रिया दिनुहोस्