२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023


निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बन्छ : महानिर्देशक अधिकारी


143
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ ।

महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनैपनि विदेशी लगानी बिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिहरुबाट नै बनाउने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताउनुभयो । महानिर्देशक अधिकारीले बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गर्नुभयो ।

उहाँले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताउनुभयो । उहाँले विमानस्थल बनाउने लागतका हिसावले जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय अविधमा १ खर्ब २० अर्बमा वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने बताउनुभयो ।

महानिर्देशक अधिकारीले वार्षिक १७ अर्बमा १० अर्ब नेपाल सरकारले र ७ अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनसक्ने बताउनुभयो । उहाँले नेपालले विमानस्थल बनाउन सकिँदैन भन्ने सोचलाई परिवर्तन गरेर आत्मविस्वास बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले प्रश्तावित विमानस्थल योजना नेपाल सरकारले आफैँले गर्ने प्रतिवद्धता हुनपर्ने बताउनुभयो ।

महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माण सम्बन्धि ऐनलाई नै संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौं रुपैयाँ खर्च भएको दाबी गर्नुभयो । महानिर्देशक अधिकारीले प्रश्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको बताउनुभयो । अधिकारीले अब एशिया प्यासेफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयको लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताउनुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्णरुपमा सञ्चालनमा आउन नसक्ने बताउनुभयो । उहाँले पूर्णरुपमा सञ्चालनमा आउनको लागि समय लाग्ने बताउनुभयो । उहाँले वार्षिक १० लाख हवाई यात्रु थपिँदै गएकाले १० वर्षमा पाँच करोड पुग्ने बताउनुभयो । उहाँले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गर्नुभयो । उहाँले हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता छैन भन्नु नै निरर्थक भएको बताउनुभयो ।