Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कांग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने


0
Shares

काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गर्ने भएको छ ।

कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत् कांग्रेस संघीय संसद, संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसमक्ष, कांग्रेस प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कांग्रेसले जनाएको छ ।

यसैगरी, कांग्रेसका ७७ ओटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कार्यक्रम गरेको उनले बताए ।

आमनागरिकमा सन्त्रास बढ्दै गएको, ‘पीसीआर’ परीक्षण सुस्तगतिमा भएको, मापदन्डविपरीतका ‘क्वारेन्टिन’ निर्माण गरी क्वारेन्टिन नै संक्रमण बढाउने कारखाना बन्दै गएको, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक खानाका अभावमा भोकै परिसकेको आरोप कांग्रेसले लगाएको छ ।

कांग्रेसले कृषि, पर्यटन र उद्योग–व्यवसायको पुनरुत्थानका लागि राहतको कुनै कार्यक्रम ल्याउन नसकेको, रोजगारी सिर्जनाका लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याएको, श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका व्यक्ति, एकल महिला र गर्भवतीलाई राहत एवं कुनैपनि विशेष कार्ययोजना ल्याउन नसकेको टिप्पणी पनि गरेको छ ।

यही जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमन्डलले प्रधानमन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाइसकेको छ । रासस