काठमाडौं । कुवेतमा आममाफीमा सहभागी नेपालीहरु आज स्वदेश फर्कंदै छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बिहान ११ बजेर ३० मिनेमा एउटा र १२ बजेर ३० मिनेटमा अर्को जहाज नेपाल आइपुग्ने जानकारी दिए ।
कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मंगलबार कुवेतमा आममाफीमा सहभागी भएका तीन सय जना नेपाली महिलालाई ल्याउन अनुमति दिएको थियो ।
कुवेतले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा जरिवानामा परेका नेपालीसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफी दिएको छ ।
अन्य देशका नागरिक आफ्नो देश फर्किसकेको भए पनि गएको अप्रिलदेखि आममाफीमा सहभागी भएका नेपालीहरु भने कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेका छन् ।
कुवेतले नै आममाफीमा सहभागीलाई खाद्यान्न लगायतको व्यवस्था गरेको छ ।
यसैबीच कोरोनाका कारण स्वदेश फर्कन चाहने नागरिकलाई सरकारले आजदेखि स्वदेश फर्काउने भएको छ ।
जसका लागि राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने भएको छ ।
वायुसेवा कम्पनीको सञ्चालन खर्चलाई समेत मध्यनजर गर्दै नागरिक उड्डयन मत्रालयले भाडादर कायम गरेको बताइएको छ ।
मन्त्रालयले पहिलो चरणमा जुन ११ देखि २५ सम्मको तालिका तय गरेको छ । यस्तै दिउँसो ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्