७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


तनहुँ क्षेत्र नं. १ काँग्रेस वरिष्ठ नेता पाैडेलका लागि छाेड्दै श्रेष्ठ


6.383k
Shares

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताउनुभएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफुले छोड्न परेको बताउनु भयो ।

उहाँले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताउनु भयो । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भएपनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नाका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने । जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई । अब उहाँलाई नै छोडेर सायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेस प्रदेशको बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्नुपर्ला कि भनेर आदरणिय गठबन्धनका नेताहरुले भन्नुभएको छ । मधेस प्रदेश मात्रै नभइकन सिंगो पार्टीको आदरणिय नेता नागेन्द्र चौधरी यहीँ हुनुहुन्छ । अब उहाँकै नेतृत्वमा, हाम्रो पार्टीको सचिव हुनुहुन्छ । उहाँकै नेतृत्वमा, उहाँकै छत्रछायाँमा अब सायद अहिले पनि म नेताहरुलाई अनुरोध गर्न चाहन्छु, यदी सम्भव छ भने तनहुँ जिल्ला १ नम्बर क्षेत्रको जनताले अहिले पनि नेकपा (एकीकृत समाजवादी) लाई खोजेको छ । मलाई खोजेको छ । अब होइन यही कारणले तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म एउटा पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय, पार्टीले भनेको मान्ने एउटा इमान्दार सिपाही भएको कारणले गर्दाखेरी मैले नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’

नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि निर्वाचन जित्ने आँट र शाहस लिएर अगाडि बढेको बताउनु भयो ।