प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल


0
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ ।

संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनुभएको हो ।

सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उहाँले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले शुमकामना सन्देशमा सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायमगरी दीगो विकासका लक्ष्यप्राप्तिका लागि तीन तहबीच समन्वय जरुरी रहेको उहाँको भनाइ छ ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको भन्दै उहाँले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयनसँगै उनीहरुका आवश्यकताको सम्बोधनका लागि प्रयासरत रहनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्‍याउनका लागि संविधान दिवस २०७९ प्रेरणा दिने उहाँको विश्वास छ ।