२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दलहरुले टुंग्याए समानुपातिकतर्फकाे बन्दसूची


273
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलले टुंगो लगाएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहित साना दलले समेत समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएका हुन् ।

प्रदेश, जिल्ला, क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि आवश्यकताभन्दा बढीको नाम सिफारिस भएपछि टुंगो लगाउन उनीहरूलाई सकस परेको थियो । राजनीतिक दलको पछिल्लो हप्तादेखि जारी बैठकले अन्तिम नामावली टुंगो लगाउँदै सोमबार निर्वाचन आयोगमा बन्द सूची बुझाउने तयारी गरेका छन् । प्रमुख राजनीतिक दलले प्रदेश, जिल्ला, क्षेत्रबाट सिफारिस भएका हजारौंको नाम काँटछाट गर्दै अन्तिम नामावली टुंगो लगाएका हुन् । आवश्यकताभन्दा बढी नाम सिफारिस भएकाले राजनीतिक दलले आइतबार नामावली बुझाउन नसकेका हुन् । उनीहरूले सोमबार आयोगको कार्यालयमा बन्द सूची बुझाउने जनाएका छन् ।

एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची टुंगो लगाएको हो । एमालेले समानुपातिक उम्मेदवार बनाउन तयार गरेको मापदण्ड केही कठोर थियो । तर, अन्य पार्टीबाट आउने नेताको हकमा भने लचिलो विधि अपनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।