खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, जेठ २७ । सीमा क्षेत्रमा भारतको एकतर्फी गतिविधिले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको निष्कर्ष सरकारको रहेको छ ।
प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतका गतिविधिले नेपालको सार्वभौमसत्तामा आँच पुगेको बताएका हुन् ।
नेपालले लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँग संवाद अवरुद्ध भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवालीले भारतको एकतर्फी गतिविधिले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको बताएका हुन् ।
मंगलबार विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री ज्ञवालीले भारतले समाधान हुन बाँकी रहेको भनेर स्वीकार गरेको कालापानी–लिपुलेक क्षेत्रमा एकतर्फी गतिविधिहरु जारी राखेको विषयलाई नेपालले गम्भीरतापूर्वक लिएको बताए ।
सीमा समस्या समाधानका लागि पटक–पटक प्रयास गर्दापनि सुस्ता र कालापानी क्षेत्रको समस्या समाधान गर्न नसकेको भने ।
यता, गृहमन्त्री रामबहादुर थापाले भने सीमा व्यवस्थापनका लागि ५०० स्थानमा ‘बीओपी’ स्थापना गर्ने लक्ष्य राखिएको बताएका छन् ।
पहिलो चरणमा २२१ स्थानमा बीओपी स्थापनाको काम अगाडि बढिरहेको भन्दै गृहमन्त्री थापाले दार्चुलाको छाङ्ग्रु र हुम्लाको हिल्सामा समेत गरी १२९ स्थानमा बीओपी स्थापना भइसकेको र ५९ स्थानमा बीओपीको स्थायी संरचना बनाउन बजेट छुट्याइएको बताए ।
लिम्पियाधुरासहितको नयाँ नक्सा समेटेर संविधान संशोधनको प्रक्रिया संसदमा अघि बढिरहेको छ ।
संविधान संशोधनसँगै भारतसँग संवाद गरी समस्याको स्थायी समाधान खोज्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्