गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, जेठ २७ । नेपालमा कोरोना महामारी नियन्त्रण र रोकथाममा सरकार गम्भीर नभएको भन्दै सामाजिक सञ्जालमा सक्रिय युवाहरुले प्रधानमन्त्री निवासअगाडि बालुवाटारमा धर्ना दिएका छन् ।
‘लकडाउन’को बेला गरिएको धर्नामा बसेकाहरुलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको थियो ।
‘सरकार सुतेको ?’ ‘आरडीटी होइन, पीसीआर परीक्षण गर’, ‘कर केका लागि ?’ लगायत लेखिएका प्लेकार्ड बोकी मंगलबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र आसपास युवाहरु भेला भएका थिए । धर्नामा बसेका थिए ।
सामाजिक सञ्जालमार्फत् उनीहरु कोरोना महामारीका बेला पनि सरकार सुतेर बसेकोले ब्युँझाउन भन्दै धर्नामा जुटेका हुन् ।
उनीहरुले सामाजिक दूरी कायम गरी सडकमा बसेर र सुतेर धर्ना दिँदै विभिन्न नारा लगाएका थिए ।
प्रहरीले लकडाउन उल्लंघन गरेर भेला भएको भन्दै उनीहरुलाई हट्न पटक–पटक माइकिङ गर्दापनि सडक नछाडेपछि झडपको स्थिति सृजना भएको थियो ।
यसक्रममा धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो । केही प्रदर्शनकारी घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवाहरु कोही पैदल हिँडेर त कोही साइकल लिएर बालुवाटारमा जम्मा हुन पुगेका थिए ।
केही सर्वसाधारणलेसमेत स्वतस्फूर्तरुपमा उनीहरुलाई साथ दिएका थिए ।
धर्नामा बसेकाहरुले लकडाउनका बेला सरकारले व्यापारीलाई कर तिर्न ताकेता गरेकोमा समेत विरोध गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्