हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन


117
Shares

खोरसोर (सौराहा) । धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ।

सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।

केन्द्रका प्रमुख मनपुरन चौधरीले गत साता एउटी छावीको नाम स्वर्णकली राखिएको बताउँदै भन्नुभयो, ‘मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ।’

हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।