नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक


91
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १/१ विकेट लिए । पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए । रोहितकुमार पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए भने कुशल मल्लले १३ तथा भीम सार्कीले ११ रन बनाए ।

पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २/२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १÷१ विकेट हात पारे । यस जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।