सुपथ मूल्य पसल दशैँ तिहारका लागि मात्र किन ? « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


सुपथ मूल्य पसल दशैँ तिहारका लागि मात्र किन ?


1.365k
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दशैँका लागि खसी, बोका तथा च्यांग्रा खरिद गरी उपत्यकामा ल्याउने तयारी गरेको छ । मासुसँगै संस्थानले दशैँलक्षित अन्य खाद्य सामग्रीको सुपथ पसलसमेत सञ्चालनमा ल्याउने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी बिक्रीको तयारी गरेको छ । उपत्यकाका लागि यो संख्या माग भन्दा निकै थोरै भएपनि दशैँको समयमा व्यापारीहरुले आफुखुसी मूल्य वृद्धि गर्ने भएकाले उपभोक्तालाई सुपथ दरमा उपलब्ध गराउन खसी बोका तथा च्यांग्रा ल्याउने गरेको छ ।

यो वर्ष कम्पनीले धादिङ, मकवानपुर, दाङलगायतका ठाउँहरुबाट खसी बोका र दार्चुलाबाट च्यांग्रा ल्याउने तयारी गरेको छ । जसका लागि कम्पनीका प्रतिनिधिहरु किसानको घरदैलोमा पुगेका छन् । गत वर्ष च्याग्रा ल्याउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि मुस्ताङबाट च्याग्रा ल्याउन समस्या भएपछि दार्चुलाबाट ल्याउन लागेको जनाएको छ ।

गत वर्ष कम्पनिले मकवानपुर, दाङलगायतका जिल्लाबाट दुई हजार खसी, बोका ल्याएर कम्पनीले बिक्री गरेको थियो । बजारमूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरी कम्पनीले खसी, बोका र च्यांग्रा बिक्री गर्दै आएको छ । जसकारण बजार मूल्यभन्दा प्रतिगोटा तीन–चार सय रुपैयाँसम्म सस्तो पर्छ । दशैँका लागि खसी बोका धादिङ, मकवानपुरलगायतका ठाउँहरुबाट ल्याउने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणि खनाल बताउनुहुन्छ ।

काठमाडौं उपत्यकामा मात्रै वर्सेनि दशैँमा ५० हजारवटा खसी, बोका र च्यांग्राको माग हुने गरेको छ  । यसमध्ये आधाभन्दा बढी माग भारतीय खसी, बोकाबाट पूर्ति हुँदै आएको छ । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल असोज १ गतेदेखि दुई महिनासम्म सञ्चालन हुने जनाइएको छ । दशैँ सुपथ मूल्य पसलमा प्रतिकेजि ७ देखि १० रुपैयाँसम्म छुट दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक खनाल बताउनुहुन्छ ।

दशैँ तिहार लक्षित काम देखाउने भन्दा पनि देशैभरि रहेका आफ्नो सञ्जालमार्फत जनतालाई वर्षैभरि राहत दिने खालका सुपथ पसल ७७ वटै जिल्लामा चलाउन आवश्यक छ ।