काठमाडौं । सरकारले करिब तीन महिनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय नगर्दा त्यसको उल्लंघन हुन थालेको छ ।
सरकारले लकडाउन खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिले पटक पटक छलफल गरेपनि आवश्यक निर्णय गर्न सकेको छैन ।
गृह मन्त्रालयले लकडाउन खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ ।
काठमाडौं उपत्यकामा केही दिनदेखि सवारी साधनको बाक्लो चाप देखिन थालेको छ । सरकारले हिजोदेखि मालपोत कार्यालयहरु पनि खोलेको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयर बजार पनि तत्कालै खुलाउन निर्देशन दिइसकेका छन् ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि सिमित शाखाहरुमा समय तोकेर सेवा दिइरहेका छन् ।
जसका कारण पनि पछिल्ला केही दिनहरुमा उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको हो ।
विभिन्न व्यावसायिक संगठनहरुले पनि लामो समयदेखि लकडाउन हुँदा दैनिकी गुजारा गर्न असहज भएको भन्दै व्यवसाय सञ्चालन गर्ने निर्णय गरिसकेका छन् ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विज्ञहरुसँग लकडाउन खुकुलो पार्नेबारेमा विज्ञहरुसँग छलफल गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्