मीरा बस्नेत र राममान डंगोल (इमेज)
काठमाडौं, जेठ २४ । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको तत्कालीन विद्रोही माओवादीले हत्या गरेको १६ वर्ष बितेको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामायाले वीर अस्पतालमा आमरण अनशनमा बसेको वर्षौं बितेपनि न्याय पाउने आशा नदेखिएपछि अब अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिन्छिन् ।
गोरखा, फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादी कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए ।
निर्दोष छोरोको हत्यापछि अधिकारी दम्पतीले न्यायको लागि संघर्ष सुरु गरे । यसका लागि उनीहरुले सुरु गरे, आमरण अनशन ।
अनशनकैक्रममा नन्दप्रसाद अधिकारीले २०७१ साल असोज ६ गते देहत्याग गरे । गंगामाया अझैपनि अनशनकैक्रममा छिन् ।
दिवंगत छोराको तस्वीर अस्पतालको भित्तामा झुन्ड्याएर अनशन जारी राख्दै आएकी छन् ।
न्याय पाउने आशा कमजोर बन्दै गएपछि उनी ‘लकडाउन’ खुलेलगत्तै अन्तर्राष्ट्रिय अदालत ढकढक्याउने बताउँछिन् ।
गंगामाया अनशन बसेयता सत्ताको बागडोर सम्हाल्न दल र पात्रहरु फेरिइरहे । सबैले दोषीलाई कारबाही गर्ने आश्वासन त दिए । तर, पूरा भने कहिल्यै भएन ।
न्याय प्राप्तिका लागि मानवअधिकार आयोगदेखि अदालतसम्म गुहारेपनि कसैले न्याय दिन नसकेको उनको बिलौना छ ।
हत्यामा संलग्नको नामै तोकेर उजुरी गर्दापनि सरकारले हत्यारालाई कारबाही गर्नुको सट्टा हत्याको आरोप लागेकाहरुको पक्षमा दिएको आदेशले न्याय पाउने आशा नै नरहेको गंगामायाको भनाइ छ ।
तर, जबसम्म हत्यामा संलग्नहरुलाई कारबाही हुँदैन, तबसम्म आफूले न्याय नपाउने भन्दै उनले आफूपनि अस्पतालमै मर्न तयार रहेको बताउँछिन् ।
एकातर्फ नन्दप्रसाद अधिकारीको शव झन्डै ६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालबाट उठ्न सकेको छैन भने अर्कोतर्फ गंगामायाले न्यायको भीख मागिरहेको पनि वर्षौं बितिसकेको छ ।
तर, न्याय दिने निकायहरुलाई भने यो संघर्षको पीडाले अझैसम्म पनि छुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्