Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


३५३ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको प्रदर्शन


0
Shares

काठमाडौं, जेठ २३ । ३५३ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको शुक्रबार प्रदर्शन गरिएको छ ।

विश्व सम्पदामा सूचीकृत ललितपुरको दरबारस्थित कृष्ण मन्दिरको प्रांगणमा शेषनाग रहेको सुनको सिंहासन प्रदर्शन गरिएको हो ।

प्रत्येक वर्ष सबैभन्दा लामो दिनको रुपमा मानिने ज्या पुन्हि जेठ पूर्णिमाको आजको दिन सिंहासन प्रदर्शन गर्ने परम्परा छ ।

पाटन, ओकुबहाल बस्ने जोधाजु शाक्यले वि.सं. १७२४ शुक्ल अष्टमी बृहस्पतिका दिन सम्यक महापूजा गरी राजा श्रीनिवास मल्ललाई सो सिंहासन चढाएका थिए ।

वर्षाको प्रतीक नागहरु भएको सिंहासन सर्वसाधारणका लागि प्रदर्शन गर्दा वर्षा हुने जनविश्वास छ ।

सोही अवसरमा सिद्धिनरसिंह मल्लको जीवनसँग सम्बन्धित ३८४ वर्ष पुरानो पौभा चित्रकला पनि प्रदर्शन गरियो ।

यसैगरी, करिब ४०० वर्षअगाडि राजा सिद्धिनरसिंह मल्लले रचेको ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि प्रस्तुत गरियो ।

वर्षकै सबैभन्दा लामो दिन मानिने आजको दिनलाई संगीत दिवसका रुपमा नेपाल मण्डलमा मनाइने परम्परा रहेको छ ।

कोरोनाभाइरसको संक्रमण र ‘लकडाउन’का कारण शुक्रबार दिउँसै सो कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।