११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


स्वास्थ्य संकटकालको तयारी किन ?


0
Shares

सागर महर्जन (इमेज)

काठमाडौं, जेठ २२ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै चैत ११ गतेदेखि जारी ‘लकडाउन’ खुकुलो बनाउन जनस्तरबाटै चर्को दबाब परिरहेको बेला सरकार भने स्वास्थ्य संकटकाल लागू गर्ने तयारीमा जुटेको छ ।

स्वास्थ्यकर्मीहरुले सरकारी कदम कोरोना संक्रमण नियन्त्रण र उपचारमा सहयोगी हुने ठान्छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै संक्रामक रोग ऐन २०२० अन्तर्गत् स्वास्थ्य संकटकाल घोषणा हुनेछ ।

यो ऐनको दफा २ मा ‘नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूहउपर लागू हुनेगरी आवश्यक आदेश जारी गर्न सकिनेछ’ भनिएको छ ।

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’अनुसार संकटकाल लागू गर्न खोजिएको हो । जुन योजनामा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै ‘आइसोलेसन’ राख्ने, दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगे दोस्रो चरणको उपचार रणनीति लागू हुने, पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुने र १० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोरोनाको बिरामी राख्ने उल्लेख छ ।

हाल नेपालमा पनि कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्दोक्रममा छ ।

तत्कालको समयमा स्वास्थ्य संकटकाल लागू भएमा कोरोना संक्रमणको उपचार तथा रोकथाम गर्न सहज हुने डा. शेरबहादुर पुनले बताए ।

कोरोना संक्रमणको उपचार तथा रोकथामका लागि विश्वभर विभिन्न प्रयोग तथा प्रयासहरु भएका छन् ।

लकडाउनप्रति जनआक्रोश चुलिएको बेला सरकारले लागू गर्ने स्वास्थ्य संकटकाल कोरोना संक्रमण नियन्त्रणमा कति उपयोगी होला, त्यो भने प्रतीक्षाको विषय हो ।

भिडियो हेर्नुहोस्