Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


रुकुम घटनाका आरोपितलाई थप १० दिन थुनामा राख्न अनुमति


0
Shares

रुकुमपश्चिम, जेठ २२ । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम) ले बिहीबार म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ ।

दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । घटनामा छ जनाको निधन भएको थियो ।

पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालत समक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ठगवहादुर केसीले बताए । रासस