Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


छैटौं अधिवेशनमा संविधान संशोधनसम्बन्धी सरकारीबाहेकका विधेयक पेस नहुने


0
Shares

काठमाडौं, जेठ २२ । संघीय संसदको छैटौं अधिवेशनमा संविधान संशोधनसम्बन्धी सरकारी विधेयकबाहेकका विधेयक पेस नहुने भएको छ ।

नेपालको नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सरकारले ल्याएको संविधानको दोस्रो संशोधन विधेयक प्रक्रियामा गइसकेको छ ।

विधेयक संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकमा टेबल भइसकेकाले यही अधिवेशनमा राजनीतिक दलको तर्फबाट दर्ता भएका संविधान संशोधनसम्बन्धी अन्य विधेयक प्रक्रियामा नजाने भएको हो ।

एउटै अधिवेशनमा समान विषयको विधेयक एकभन्दा बढी प्रस्तुत हुन नसक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीले गरेकाले संविधान संशोधनसम्बन्धी अन्य दुई विधेयक यस अधिवेशनमा पेस हुन नसक्ने भएको हो ।

संघीय संसदका पूर्वसचिव मुकुन्द शर्माले सभामुखको आदेश नभए प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधनसम्बन्धी राजनीतिक दलका विधेयक चालू अधिवेशनमा प्रस्तुत हुन नसक्ने बताए ।

यद्यपि, नियमावलीमा भएको व्यवस्थाबाहेक सभामुखलाई अग्राधिकार दिएकाले सभामुखले बैठकमा विधेयक पेस गराउन निर्देशन गर्नसक्ने अवस्था भने यथावत् रहेको संसदका पूर्वसचिवको भनाइ छ ।