१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आज १०९औं बीपी जन्मजयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपीको योगदानको स्मरण गरिँदै


65
Shares

काठमाडौं । आज शुक्रबार नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

वि.सं. १९७१ साल भदौ २४ गते जन्मनु भएका बीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपी २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम सुरू गर्नुभएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बीपीको योगदान अनुलनीय रहेको छ । २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि बीपी लगायत नेताहरुलाई तत्कालिन सरकारले बन्दी बनाएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका बीपीले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो ।

बीपीले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँका डेढ दर्जन कृति प्रकाशित छन् । बीपीका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

बीपीको क्यान्सर रोगका कारण २०३९ साउन ६ गते निधन भएको थियो ।

बीपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बीपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित कार्यक्रम बीपी जयन्ती मनाउन लागेको जनाइएको छ ।