१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


बाग्लुङमा थप १० जनालाई कोरोना, पर्वतमा पनि चार जना संक्रमित थपिए


0
Shares

बाग्लुङ । बागलुङमा भारतबाट आएका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिकाका चार जना, निसीखोला गाउँपालिकाका तीन जना र गलकोट नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षीय पुरुष, निसीखोला गाउँपालिकाका ३ वर्षीया बालिका, २२ र २९ वर्षीय पुरुष र गलकोट नगरपालिकाका २०, २२ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

केही दिन अगाडी तमानखोला गाउँपालिकाका ४ जना बडिगाड गाउँपालिकाका २ जना गरी ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई धौलागिरि अस्पताल बागलुङको आइशोलेसन कक्षमा राखिएको छ । योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ भने २ जना निको भएर घर फर्किएका छन् ।

यता, पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फलेबास नगरपालिकाका २१, २१ वर्षिय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ भने बिहादी गाउँपालिकाका २४ र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यसअघि फलेबास नगरपालिकाका २ जना र महाशिला गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन ।