महारानी एलिजावेथको निधन, दश दिनको शोकपछि अन्त्यष्टि गरिने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


महारानी एलिजावेथको निधन, दश दिनको शोकपछि अन्त्यष्टि गरिने


2.132k
Shares

काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ ।

बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो ।

केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको हो ।

सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो ।

उहाँ विश्वकै सबैभन्दा लामो शासन गर्ने राष्ट्रप्रमुख हुनुहुन्थ्यो । उहाँ ७० वर्ष सात महिना सत्तामा रहनु भयो ।

महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्र्स बेलायतको राजा बन्नुभएको छ । अब राजा चाल्र्स तृतीयको आदेश अनुसार महारानी एलिजावेथको शव बालमोरल दरबारबाट बकिङ्घम दरबारमा सारिने छ ।

दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने बीबीसीले जनाएको छ । यो अवधिभर बेलायतमा संसद बैठकहरुदेखि कुनै पनि सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कार्यक्रम गरिने छैनन् ।

महारानी एलिजावेथका श्रीमान फिलिपको गत वर्ष अप्रिलमा निधन भएको थियो ।

महारानी एलिजावेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने । महारानीको शासनकालको पहिलो प्रधानमन्त्री विस्न्टन चर्चिल हुनुहुन्थ्यो भने अन्तिम प्रधानमन्त्री लिज ट्रस बन्नुभयो ।

महारानी एलिजावेथको निधन लगत्तै राजा बन्नुभएका चाल्र्सको औपचारिक गद्दी आरोहण कार्यक्रम भने शनिबार गरिने जनाइएको छ ।