काठमाडौं । संविधानसभा र त्यसपछिको आम निर्वाचनमा पर्यवेक्षणको इच्छा राख्दै निर्वाचन आयोगमा आवेदन दिने विदेशी पर्यवेक्षक दर्जनको हाराहारीमा हुन्थे । तर अगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि त्यसरी आह्वान गर्दा विदेशी पर्यवेक्षकको चासो न्यून देखिएको छ ।
यसपटक पाँचवटा विदेशी पर्यवेक्षक संस्थाहरूले पर्यवेक्षण आवेदन दिएका छन् । तीमध्ये दुईवटाको स्वीकृत भइसकेको छ भने तीनवटा संस्थाका कागजात जाँच तथा थप विवरण माग गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका उपसचिव कमल भट्टराईका अनुसार पर्यवेक्षण गर्न स्वीकृति पाएका संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्सन र सार्क हुमन राइट फोरम छन् । यी संस्थाका १५ प्रतिनिधि नेपालमा पर्यवेक्षणका लागि आउनेछन् ।
आवेदन दिएका अन्यमा श्रीलंकाली एक, रसियाली एक र डेनिस एक संस्था छन् । आयोगले गत साउन १५ को समयसीमा दिएर पर्यवेक्षण गर्न चाहने स्वदेशी तथा विदेशी संस्थालाई आह्वान गरेको थियो। स्वदेशीतर्फ ५६ वटा संस्थाले आवेदन दिए पनि ४० वटाले मात्रै मापदण्ड पूरा गरी कागजात पेस गरेको आयोगका उपसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्