Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘एमसीसी’ संसदमा कति सहज ?


0
Shares

काठमाडौं, जेठ २१ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे तीव्र ध्रुवीकरण भइरहेकै बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बहुमत देखाएर संसदबाटै सम्झौता अनुमोदन गराउने अन्तिम प्रयासमा जुटेका छन् ।

मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओली परियोजनाका पक्षमा संसदमै मत माग्न तयार भइसकेकाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको रणनीति संसदमा थाहा हुने बताएका छन् ।

सत्ताधारी दल नेकपामा अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नहुने पक्षमा बाहुल्यता रही आएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाटै सम्झौता अनुमोदनको पक्षमा निर्णय गराउन पटक–पटक प्रयास गर्दा सफलता हात लाग्न सकेको छैन । सडकमा दिनहुँजसो एमसीसीको विपक्षमा प्रदर्शनहरु हुन थालेको छ ।

सडक प्रदर्शन र नेकपाभित्रको समीकरणका कारण संसदबाट एमसीसी अनुमोदन गराउन सहज नहुने ठानेका प्रधानमन्त्री ओली यो विषय संसदबाटै पार लगाउने निर्णयमा पुगेका छन् ।

संसदमा करिब दुईतिहाइको हाराहारीमा मत रहेको नेकपाकै प्रधानमन्त्रीले एमसीसीको पक्षमा संसदमा भोट माग्ने तयारी गरेबाट ओलीले पाटीमा इतर समूहका नेता र विपक्षी दलका नेतालाई संसदमै सम्झौताको पक्षमा बाध्य पार्ने रणनीति लिएको बुझिन्छ ।

संसदबाट एमसीसी पारित गराउने ओलीको रणनीतिले सत्ताधारी दल नेकपामा फेरि बिग्रह नल्याउला भन्न सकिन्न ।

पार्टीले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले पार्टी स्थायी समितिबाट निर्णय नभइ एमसीसी संसदमा लगे दुर्घटना हुने चेतावनी दिइरहेका छन् ।

प्रधानमन्त्री ओली नेकपाको कुनै कमिटीबाट एमसीसीको पक्षमा निर्णय गराउन सकिँदैन भन्नेमा जानकार छन् । तसर्थ, उनी आफ्नो बहुमत रहेको नेकपा संसदीय दलबाट यसको छिनोफानो गराउन चाहन्छन् ।

सरकारका लागि चालू अधिवेशनबाटै सन् २०१७ मा भएको एमसीसी पारित गराउनुपर्ने बाध्यता छ ।

सरकारी नीति तथा कार्यक्रम अनि बजेटमा एमसीसी परियोजनाको अंग समावेश भएपछि नेकपाभित्र निकै राजनीतिक उतार–चढाव देखिएको थियो ।

एकथरी पार्टीबाट निर्णय गराउन चाहने, प्रधानमन्त्री पेलेरै संसदबाट सम्झौता अनुमोदन गराउन चाहने । नेकपाभित्रको यो टकरावले कुन रुप लिन्छ, त्यो नेपाली राजनीतिका लागि महत्वपूर्ण परिघटना हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्