३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह


130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ ।

उहाँले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनु भयो ।

उहाँले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताउनु भयो उहाँले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीेसँग जोडिएको बताउनु भयो । मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । उहाँले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै अतिथिहरु बिहीवारबाट काठमाडौं आउन थाल्ने जानकारी दिनुभयो ।

उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताउनु भयो । उहाँले इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भुमिका हुने दावी गर्नुभयो ।

इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन । तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ । जात्रा आवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी शहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ । काठमाडौं उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको छ ।