२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ह्याक गरी पैसा माग्दा प्रहरीमा उजुरीको चाङ


117
Shares

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष राजकुमार न्यौपानेलार्ई आइतबार राति करिब १०ः३० तिर एउटा फेसबुक अकाउन्टबाट म्यासेज आयो । लामो समय कुरा भयो । आफूले नचिनेको आईडीबाट म्यासेज आउँदा पनि न्यौपानेले पर्वाह गर्नुभएन ।

आफू जिल्ला अध्यक्ष भएका कारण साथीभाइले कुराकानी बढाएका होलान्, सम्बन्ध कायम राख्न बोल्नुपर्छ भन्ने सोच्दै उक्त व्यक्तिसँग उहाँको च्याट चलिरह्यो । केहीबेरमा उक्त व्यक्तिले बिभिन्न बहाना बनाउँदै रकम माग्न थाल्यो ।

‘पैसाको कारोबार मबाट हुँदैन’ भन्ने जवाफ न्यौपानेले दिएपछि उक्त व्यक्तिले ‘ठीकै छ दाइ । त्यसो भए, मेरो लागि सानो सहयोग गर्नुस्न त’ भन्ने प्रस्ताव राख्यो । तब न्यौपानेले ‘हुन्छ’ भन्दा उसले न्यौपानेको मोबाइलमा आएको कोड माग्यो । उक्त कोड न्यौपानेले दिनुभयो ।

राति १२ बजेतिर न्यौपानेका साथीहरु र आफन्तको फोन आउन थाल्यो । किन पैसा मागेको, केका लागि, कति चाहिएको जस्ता प्रश्नले न्यौपाने अल्मलिनुभयो । आफूले कसैसँग पैसा नमागेका, अनलाइन पनि नबसेको र पौने ११ बजेतिर आफू सुतेको बताएपछि उहाँको फेसबुक हयाक भएको आफन्तबाट बल्ल थाहा पाउनुभयो । आइतबार रातिदेखि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष न्यौपानेको फेसबुक अकाउन्ट आफ्नो बसमा ल्याउन सक्नुभएको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।