अक्कल कुँवर (इमेज)
काठमाडौं, जेठ २० । राजा वीरेन्द्रको वंशनाश हुने गरी २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको कहालीलाग्दो काण्डको सोमबार फेरि स्मरण गरियो ।
१९ वर्ष पूरा भएको त्यो काण्ड तथा लोकप्रिय वामपन्थी नेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान जानेगरी २०५० सालमा भएको दासढुंगा जीप दुर्घटनालाई नेपालीहरु रहस्यमय घटना ठान्छन् ।
यी घटना भएपछि मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए भने यसबीचमा बनेका दर्जन बढी सरकारहरुले सामान्य छानबिनको आवश्यकता पनि देखेनन् ।
२०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्ड र २०५० सालमा भएको दासढुंगा घटना नेपाली राजनीतिमा सदा महत्व राख्ने निकै चर्चित र बिर्सनै नसकिने परिघटना हुन् ।
दुवै काण्डको छानबिन गर्न तत्कालीन अवस्थामा बनाइएका छानबिन समितिले प्रतिवेदनहरुसमेत दिएका छन् ।
राजनीतिज्ञहरुले ती प्रतिवेदनहरुमै प्रश्न उठाएर जनमानसमा दुवै घटनालाई अझै रहस्यमय बनाउन मलजल गरिरहेका छन् ।
नारायणहिटी राजदबारकाण्डले २४० वर्षे राजतन्त्रको जग हल्लायो । अझ भनौं, गणतन्त्रको बिजारोपण गर्यो ।
२०६५ जेठ १५ गते विधिवतरुपमा देशमा गणतन्त्रको स्थापना भयो । त्यसले नारायणहिटीकाण्डको गहिरो अनुसन्धान हुने र सत्यतथ्य सार्वजनिक हुने अपेक्षा आमनागरिकमा थियो ।
गणतन्त्र स्थापनापछि बनेका सबैजसो प्रधानमन्त्रीहरुले नारायणहिटीकाण्डको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने भनेर चर्का भाषणहरु गरिरहे, राजनीतिक मसला बनाइरहे ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी नेताहरु सत्यतथ्य बाहिर ल्याउने अवसरबाट चुकेको ठान्छन् ।
तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी करार गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा खोट देखाउने नेताहरुले त्यति ठूलो नारायणहिटीकाण्डको छानबिन गर्ने हिम्मत देखाएनन् ।
उसो त तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान जानेगरी २०५० साल जेठ ३ गते भएको दासढुंगा जीप दुर्घटनालाई पनि रहस्यमय भन्दै राजनीतिक मसला बनाउने गरिएको छ ।
दुर्घटनाको छानबिनका लागि एमालेले नेता केपी शर्मा ओलीको संयोजकत्वमा छानबिन गर्न आन्तरिक समिति गठन गर्यो । सरकारले पनि छानबिन समिति बनायो । ओली समितिले सो घटनालाई ‘हत्या’ भन्यो भने सरकारी समितिले ‘दुर्घटना’ ।
दासढुंगा घटना एमालेको राजनीतिक फैलावटका लागि राम्रो मसला बन्दै आयो ।
एमालेकै नेताहरुको नेतृत्वमा धेरैओटा सरकार बन्दा पनि यसको गहिरो अनुसन्धानमा कसैले चासो देखाएनन् । यसले आश्रितका छोरा डा. सागर न्यौपानेको मन दुखाएको छ ।
चाहने हो भने स्व. मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र एमालेले बनाएको तत्कालीन आन्तरिक समितिका संयोजक केपी शर्मा ओली प्रधानमन्त्री रहेको यो बेला दासढुंगा घटनाको वास्तविकता पहिचान गरी दोषीलाई कारबाही गर्न कुनै साइत कुरिरहनु पर्दैन ।
दासढुंगा घटना र नारायणहिटी दरबारकाण्डको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन अझै समय छ ।
तर, नेताहरु दुवै घटनालाई अनन्तकालसम्म राजनीतिक मसला बनाइरहने दाउमा देखिन्छन् ।









प्रतिक्रिया दिनुहोस्