धादिङ । सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता भएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ ।
गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि नपाएकी हुन् ।
भारती थरकी यी वृद्धाको श्रीमान्को एक वर्षअघि मृत्यु भएको र त्यसपछि उनको दैनिकी झनै दयनीय बन्दै आएको हो ।
अहिले उनले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आएकी छिन् । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उनको सहारा भएका छन् ।
उनीसँग एकसरो लगाउने लुगा मात्र छन् । वर्षात्को पानीले सहज निकास नपाउँदा उनले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ ।
टोलबाट बगेर आएको पानीले उनको छाप्रोमा गन्ध आउने गरेको छ । सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् ।
ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ ।
उनले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताइन् । दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहेकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाएकी छैनन् ।
गरिब परिवारमा रहेकी उनकी नन्दले जेनतेन खुवाइरहेकी छिन् । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो ।
सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उनको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नगरिकता र अन्य कागज बनाउन सहयोग गर्ने बताए ।
उनले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्